इटहरी । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी डिजिटल र सामाजिक सञ्जालमा कमजोर हुँदा लोकरिझ्याइँवादी राजनीति हाबी भएको टिप्पणी गरेका छन् ।काठमाडौँको भृकुटीमण्डपमा सोमबार जारी कांग्रेसको विशेष महाधिवेशनमा उनले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै यस्तो बताएका हुन्।
कांग्रेसको डिजिटल र सामाजिक सञ्जाल संवादमा कमजोर रहेको उनको भनाइ छ । 'हामीले स्वीकार्नैपर्छ कि पुराना मूल्य-मान्यता, शैली, दृष्टिकोणले युवा मतदातालाई कांग्रेसप्रति आकर्षित गर्न सकिरहेका छैनौँ । यसले लोकरिझ्याइँवादी राजनीति हाबी भएको छ र युवा आकर्षण टिकाउन सकेनौँ,' उनले भने।
थापाले भने, 'परम्परागत माध्यमले अब समाजमा प्रभाव कम गरेको छ। नयाँ प्रविधि र सामाजिक सञ्जालले जनसंख्याको ठूलो हिस्सा ओगटेको छ । कुन सूचना ठिक, कुन सूचना गलत थाहा पाउन मुस्किल हुँदा सुसूचित बहस ओझेल भएको छ ।'
समाज, राजनीति, अर्थतन्त्र र प्रशासनका जटिल समस्याको आधारमा सतही समाधान दिने राजनीति हाबी भएको उनको बुझाइ छ। “नेपालमा सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्ममार्फत लोकरिझ्याइँको राजनीति छिटो फैलिरहेको छ... यसलाई परास्त गर्न संयमित सूचना र जिम्मेवार राजनीति गर्न हामी विगतमा चुकेका छौँ ।' प्रतिवेदनमा उल्लेख छ।


















