इटहरी । नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु हुनुअघि नै भृकुटीमण्डप क्षेत्रमा महाधिवेशन प्रतिनिधि र कार्यकर्ताहरूको चहलपहल देखिन थालेको छ।देशभरका विभिन्न जिल्लाबाट प्रतिनिधिहरू काठमाडौँ आइपुग्न थालेसँगै महाधिवेशन स्थल आसपासमा कांग्रेस नेता कार्यकताको उपस्थिति बाक्लिएको हो ।

आइतबार र सोमबार आयोजना हुने विशेष महाधिवेशनका लागि मञ्च निर्माण, हल सजावट र प्राविधिक तयारी अन्तिम चरणमा पुगेको छ । प्रतिनिधि र कार्यकर्ताहरूको उपस्थितिले त्यस क्षेत्र थप सक्रिय देखिएको छ।

महाधिवेशन व्यवस्थापन समितिका अनुसार हिजोदेखि प्रतिनिधि दर्ता, परिचयपत्र वितरण र बसोबास समन्वयको काम पनि अगाडि बढाइएको छ। प्रतिनिधिहरू आउन थालेपछि स्वयंसेवकहरू परिचालन गरि स्थल व्यवस्थापन चुस्त बनाइएको जनपरिचालन समितिका सदस्य सचिव सुसन वैद्यले बताए।

भृकुटीमण्डप परिसरमा पार्टीका झन्डा, ब्यानर र प्रचार सामग्री राख्ने काम भइरहेको छ। प्रवेशद्वार व्यवस्थापन, सुरक्षा समन्वय र यातायात व्यवस्थापनमा पनि तयारी तीव्र पारिएको प्रचारप्रसार समितिले जनाएको छ ।जनपरिचालन समितिका अनुसार उद्घाटन सत्रमा ठूलो संख्यामा कार्यकर्ता र शुभेच्छुकको उपस्थिति रहने अपेक्षा गरिएको छ।