कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसको संस्थापन पक्षका ६ जिल्ला सभापतिले विशेष महाधिवेशनमा सहभागी नहुन महाधिवेशन प्रतिनिधिसँग आग्रह गरेका छन् ।६ जिल्लाका सभापतिहरूले संयुक्त विज्ञप्ति निकालेर विशेष महाधिवेशनलाई ‘विधानविपरीत’ भन्दै त्यसमा सहभागी नहुन पार्टी–पंक्तिलाई अपिल गरेका हुन्।

प्रदेशका कुल ९ जिल्लामध्ये ६ जिल्ला सभापतिहरू बझाङका खडकबहादुर बोहरा, डोटीका नरेन्द्रबहादुर सिंह, डडेल्धुराका भीम साउद, अछामका पुष्पबहादुर शाह, कञ्चनपुरका पदम बोगटी र कैलालीका नारायणदत्त भट्टले संयुक्त विज्ञप्ति निकालेर विशेष महाधिवेशनको विपक्षमा उभिएका हुन्।

उनीहरूले नियमित महाधिवेशन नै गरिनुपर्नेमा जोड दिएका छन्। विधानबमोजिम निर्धारित समयमै १५औँ महाधिवेशन गर्ने कार्यतालिका अघि बढिरहेको सन्दर्भमा विशेष महाधिवेशनको औचित्य नहुने जिकिर ती ६ जिल्ला सभापतिले गरेका छन्।कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षले यही पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन गर्ने घोषणा गरेको छ।

पार्टीको विधानमा कुनै पनि तहको अधिवेशन वा विशेष अधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा कुनै पदाधिकारी वा सदस्यलाई नभएको र केन्द्रीय कार्यसमितिलाई मात्र रहेको भन्दै उनीहरूले हाल आह्वान गरिएको विशेष महाधिवेशन विधानविपरीत रहेको तर्क गरेका छन्।

‘पदाधिकारी वा सदस्यले व्यक्तिगत रूपमा बोलाइएको अधिवेशन वा विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि पार्टीको विधानविपरीत हुने हुँदा त्यस्ता गतिविधिमा संलग्न नहुन पार्टीका सबै तहका पदाधिकारी एवं सदस्यहरू, महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, भ्रातृ एवं शुभेच्छुक संस्था तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिका पदाधिकारी एवं सदस्यहरूलाई हार्दिक अपिल गर्दछौँ’, उनीहरूले विज्ञप्तिमा लेखेका छन्।