इटहरी ।  नियमित महाधिवेशन नभएपछि नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन आह्वान गरेपछि जिल्ला कार्यसमितिहरूले स्वागत गर्दै सहभागिताका लागि अपिल गरेका छन् ।

हालसम्म कांग्रेसका ललितपुर सभापति जितेन्द्रकुमार श्रेष्ठ, कास्की सभापति किशोरदत्त बराल, सिन्धुपाल्चोक सभापति जंगबहादुर लामा, उदयपुर सभापति हिमाल कार्की, काभ्रे सभापति तीर्थ लामा, धनकुटा सभापति दिनेश राईले विशेष महाधिवेशनका पक्षमा विज्ञप्ति जारी गरी सहभागिताका लागि अपिल गरेका छन् ।

कांग्रेसका ३० भन्दा बढी जिल्ला सभापति विशेष महाधिवेशन पक्षमा रहेको बताइएको छ । विशेष महाधिवेशन पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षका अधिकांशले विशेष महाधिवेशनको औचित्य नभएको बताइरहेका छन् ।

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएर विशेष महाधिवेशन माग गरेका थिए । तर त्यसअनुसार हस्ताक्षर सनाखतलगायत प्रक्रिया अघि बढाइएको थिएन ।

विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरे ३ महिनाभित्र आह्वान गर्नुपर्छ । सभापति र केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशन आह्वान नगरेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बाध्यकारी भएको भन्दै आह्वान गरेका हुन् ।

टाढाका जिल्लाका प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी हुन हिँडिसकेको भनी विशेष महाधिवेशनको ब्यानर लगाइएका सवारी साधनको तस्बिर पनि सामाजिक सञ्जालमा आउन थालेका छन् ।