इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) ले विभिन्न व्यक्ति तथा समूहलाई पार्टीमा मिलाउन ‘वृहत राजनीतिक समायोजन घोषणा सभा’ आयोजना गर्यो । सोमबार केन्द्रीय कार्यालय बनस्थलीमा आयोजित कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका पूर्व नेता, थरूहट/थारूवान अभियान्ताहरु रास्वपामा समायोजन भए ।

कार्यक्रमको ब्यानरमा सभापति रवि लामिछानेलाई दायाँ र बायाँ ठूला तस्बिरसहित ‘प्रोजेक्टेड’ गरिएको थियो । उक्त कार्यक्रममा सभापति लामिछानेसहित उपसभापति डोलप्रसाद अर्याल र स्वर्णिम वाग्ले लगायतका नेताहरू सहभागी भए ।तर, वरिष्ठ नेता बनेका काठमाडौँ महानगरका मेयर बालेन शाह र उपसभापति बनाउने सहमति भएका कुलमान घिसिङ भने एकता सभामा सहभागी भएनन्।

रास्वपा र बालेन्द्रबीच पुस १३ गते एकता सम्झौता भएको थियो। त्यस्तै रास्वपा र कुलमानको उज्यालो नेपाल पार्टीबीच पुस १४ गते ७ बुँदै सहमति नै भएको थियो।त्यही अनुसार आइतबार रास्वपाले बालेनसहित २६जनालाई केन्द्रीय समिति सदस्यमा मनोनीत गरेको थियो। कुलमान पक्षबाट भने केन्द्रीय सदस्य नियुक्त गर्न बाँकी छ।

यद्यपि, बालेन र कुलमानले शपथ लिन बाँकी छ।सहमति अनुसार बालेन रास्वपाको वरिष्ठ नेता र प्रधानमन्त्रीको उम्मेदवार हुने छन्। त्यस्तै कुलमान रास्वपाको उपसभापति हुने छन्। तामझामका साथ आयोजना गरिएको पार्टी समायोजन कार्यक्रममा हालै समायोजित बालेन र कुलमान नै उपस्थित नहुनुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।