इटहरी । नेपाली कांग्रेसभित्र बढ्दो विवाद समाधानका लागि नेता डा. शेखर कोइरालाले मध्यमार्गी विकल्प खोज्ने प्रयास थालेका छन् । जसका लागि उनले आफूनिकट नेताहरूलाई संवाद र परामर्शमा खटाएका छन्।
संस्थापन पक्षले नियमित महाधिवेशनको कार्यतालिका पछि सारेपछि महामन्त्रीहरू विशेष महाधिवेशनतर्फ अग्रसर भएका छन्। यही विषयलाई लिएर पार्टीभित्र मतभेद बढ्दै गएपछि कोइरालाले बीचको बाटो खोज्ने प्रयास थालेका हुन्।
विधानअनुसार विशेष महाधिवेशन बोलाउनुपर्ने एक पक्ष र विशेष महाधिवेशनको औचित्य सकिएको अर्को पक्षको अडानका कारण कांग्रेसमा विवाद चर्किँदै गएको छ ।
यसैबीच कोइरालाले सोमबार बिहान बसुन्धरास्थित आफ्नै निवासमा आफूनिकट नेताहरूसँग छलफल गरेका छन्। छलफलमा विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियानमा संलग्न नेताहरू पनि सहभागी थिए।
बैठकमा सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार, केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेल तथा हस्ताक्षर अभियानको नेतृत्वकर्तामध्येका देवराज चालिसेलगायत सहभागी थिए।
‘के भनेर विशेष महाधिवेशन पक्षधर साथीहरूलाई मनाउन सकिन्छ भनेर बिहान हामीहरूलाई बोलाउनुभएको थियो,’ छलफलमा सहभागी एक नेताले भने, ‘दाइले बिहानै आफ्नो निटककालाई बोलाएर अब के गरेर जान सकिन्छ भनेर परिचालन गर्नुभएको छ ।’


















