इटहरी ।  नेपाली कांग्रेसभित्रको विवादमा इतर पक्षका नेता डा. शेखर कोइराला सभापति शेरबहादुर देउवाको पक्षमा उभिएका छ्न ।कोइरालाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गरेको विशेष महाधिवेशन आह्वानप्रति असहमति जाहेर गरेका हुन ।

कोइरालाले विशेष महाधिवेशनका नाममा केन्द्रीय समितिभन्दा बाहिरबाट कसैले भेला बोलायो भने त्यसले पार्टी विभाजन गर्ने स्पष्ट पारेका छन् ।महामन्त्रीद्वयले नियमित महाधिवेशन स्थगितको घोषणा गरेर विशेष महाधिवेशन आह्वान गरेपछि कोइरालाले बिहीबार सभापति शेरबहादुर देउवासँग २ घण्टा छलफल गरेका थिए ।

देउवासँगको छलफलपछि नेता कोइरालासहित कार्यवाहक सभापति पूर्णबहादुर खड्का, डा. मिनेन्द्र रिजाल र रमेश लेखकबीच पनि लामो छलफल भएको हो।कोइरालाले केन्द्रीय समिति बाहेकले बोलाउने विशेष महाधिवेशन आफूलाई स्वीकार्य नभएको प्रस्ट पारेका छन्।

‘विशेष महाधिवेशन गर्ने प्रक्रिया होला। केन्द्रीय समितिले भन्नुपर्‍यो। महामन्त्रीले विशेष महाधिवेशनको कुरा गरेर हुन्छ?,’ उनको प्रश्न छ, ‘विशेष महाधिवेशन म पनि चाहन्छु। तर, केन्द्रीय समितिले निर्णय गरोस् विशेष महाधिवेशनको।’कार्यविधि बनाएर खाली विशेष महाधिवेशन गर्ने भनेर कस्तो महाधिवेशन गर्न खोजेको भन्दै कोइरालाले महामन्त्रीद्वय थापा र शर्माको कदममाथि प्रश्न उठाए।

विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका महाधिवेशन प्रतिनिधिलाई पुस २७ र २८ को भेलामा सहभागी हुन रोक्न नसके पार्टी विभाजन हुने नेताहरूको बुझाइ छ।महामन्त्रीको निर्देशनमा विशेष महाधिवेशन गर्न, पुस २७ र २८ गतेका लागि काठमाडौँको भृकुटीमण्डपस्थित हल बुकिङ गरिएको छ। यता, कांग्रेसले विशेष महाधिवेशन रोक्ने रणनीति बनाउन आज (शुक्रबार) केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ ।