इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनमा आयोगमा बुझाएको समानुपातिक तर्फको बन्दसूचीमा सच्याउने तयारी गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि रास्वपाले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीका सम्बन्धमा विभिन्न सरोकारवालाहरूबाट प्राप्त भएका प्रतिक्रिया र सुझावहरूप्रति पार्टीको ध्यानाकर्षण भएको भन्दै सच्चाउने तयारी गरेको हो ।
उसले बन्दसूचीमा सच्याउनुपर्ने विषय भए प्रदेश सभापति मार्फत् वा सिधै पार्टी केन्द्रीय कार्यालयमा बुझाउन निर्देशन जारी गरेको छ। ‘समय अभावलाई मध्यनजर गर्दै अन्तिम समयमा गर्नुपर्ने राजनीतिक संवाद र सहमतिका कारणले यस प्रक्रियामा कुनै कमीकमजोरीहरू देखिएमा सच्याउन पाइने समयको सदुपयोग गरिने कुरामा सहमत हुँदै सूची पेस भएको हो। उक्त बन्दसूचीमा रहेका त्रुटिहरु सच्याउन निर्वाचन आयोगद्वारा दिइएको समयसीमाभित्र पार्टीले कुनै त्रुटि देखिएमा सुधार गरी समयमै पेश गर्ने जानकारी गराइन्छ। अतः बन्दसूचीमा सच्याउनुपर्ने विषयमा पौष १७ गते बिहान १० बजेभित्र यथोचित सुझाव प्रदेश सभापति मार्फत् वा सिधै पार्टी केन्द्रीय कार्यालयमा बुझाउन सकिने छ,’ सचिवालयले भनेको छ।
रास्वपाका सभापति लामिछानेले पनि विधिभन्दा बाहिरको समानुपातिकको नाम काटिने बताएका छन् । पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा लामिछानेले समय कम हुँदा समानुपातिक सूचीमा धेरै काम गर्न नसकिएको स्वीकार गरे । ‘पर्न नहुने मान्छे परेको रहेछ । कुनै पनि हिसाबले त्यो विधिभन्दा बाहिर रहेछ भने त्यो नाम काटिन्छ । मैले निर्देशन नै दिइसकेको छु’, रविले भने ।
रास्वपाले प्राइमरी इलेक्सनबाट उम्मेदवारको छनोट गरेको थियो । तर, प्राइमरी इलेक्सनको नतिजा पूर्ण कार्यान्वयन हुन सकेन । रास्वपाले आफ्नो तर्फबाट ६० जना उम्मेदवारको छनोट गर्दा पनि प्राइमरी इलेक्सनको नतिजालाई न्याय गर्न नसकेकोभ भन्दै आलोचना भएको छ ।


















