इटहरी । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साह र समुन्नत नेपाल पार्टीका अध्यक्ष सर्वेन्द्र खनालसहित करिब डेढ दर्जन दल र अभियानबीच सहकार्यका लागि पहल सुरु भएको छ ।शनिबार काठमाडौंमा भएको एक भेलाले आगामी फागुन २१ गतेको निर्वाचनमा मिलेर जाने सहमति गर्दै ती दलहरूबीच समन्वय गर्ने जिम्मा पत्रकार ऋषि धमलालाई दिएको छ ।
जेन–जी आन्दोलनपछि जन्मिएका र केही पूराना दलबीच पनि चुनावमा सहकार्य गर्नेबारे छलफल भएको छ । उनीहरूले सकेसम्म समानुपातिकतर्फ नै सबैलाई समेटेर जानेगरि सहमति गरेका हुन् ।प्रत्यक्षतर्फ तालमेल गर्ने छलफलमा सहभागी विभिन्न डेढ दर्जनभन्दा बढि दलका नेताहरुबीच समझदारी बनेको छ । सबै दललाई मिलाएर लैजाने विषयमा कार्यदल बनाउनेसमेत सहमति भएको बताइएको छ ।
समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारहरूको बन्दसूची पेस गर्दा सबै पक्षलाई समेटेर पेस गर्ने सहमति भएको छ भने प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रमा तालमेल गर्ने समझदारी बनेको एक नेताले बताए ।शनिबार भएको छलफलमा आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साह, समुन्नत नेपाल पार्टीका अध्यक्ष सर्वेन्द्र खनाल, जनादेश पार्टीका रमण कुमार कर्ण, नेपाली जनता दलका कार्यकारी अध्यक्ष नवराज सुवेदी, नागरिक बचाउ दलका माधव खतिवडा, जय मातृभूमि पार्टीका महासचिव गोविन्द गिरी सहभागी थिए ।
यस्तै, जनता लोकतान्त्रिक पार्टीका अध्यक्ष अशोक कुमार मण्डल, समावेशी लोकतान्त्रिक पार्टीका संरक्षक सुनिलबाबु पन्त, प्रगतिशील लोकतान्त्रिक पार्टीका डा घमान सिंह गुरुङ, सर्वोदय नागरिक पार्टीको अध्यक्ष गणेशकुमार मण्डल, आवाज पार्टीका डा. सुन्दर सिंह बोहोरा, अभियन्ता टेकबहादुर विश्वकर्मालगायतको सहभागिता थियो ।


















