इटहरी । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले राजीनामा नदिए आन्दोलनमा जाने चेतावनी दिएका छन् ।सर्वदलीय सरकार गठनको माग गरेर राष्ट्रपति रामचद्र पौडेललाई १३ सुत्रीय मागपत्र बुझाएका विप्लवले १० दिनसम्म पनि मागबारे छलफल र सुनुवाई नभए आन्दोलनमा जाने बताएका हुन् ।

बिहीबारबाट सुरु भएको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीलाई पनि भेटेर आफ्ना कुरा राख्न बताए ।‘राष्ट्रपतिलाई १३ सूत्रीय माग प्रस्तुत गरेका छौँ। हामी प्रधानमन्त्रीज्यूलाई पनि भेटेर मागपत्र प्रस्तुत गर्दछौँ। १० दिनसम्म पनि मागपत्रमा छलफल चलाइएन र सुनिएन भने नेपाली जनताको साथबाट जेनजीसहित नेपालका अग्रगामी राजनीतिक शक्तिहरुसहितको सहभागितामा र सहयोगमा एउटा परिवर्तनकारी, उत्तम निकासको लागि आन्दोलनमा जानेछौँ।’

विप्लवले देशलाई अग्रगामी निकासतिर लैजान जरुरी रहेको बताएका छन्। त्यसका लागि सर्वपक्षीय सरकार जरुरी रहेको उनको भनाइ छ।‘देशलाई अग्रगामी निकासतिर लैजानुपर्छ। अहिलेको सुशीला कार्कीको सरकारलाई पनि छलफलमा ल्याएर एउटा निकास दिनुपर्छ,’ उनले भने, ‘जनताका अधिकार अधुरा भए, संविधान अपूर्ण भयो।’

समाजवादी संघीयता आजको नेपालको ढाँचा हुनुपर्ने उल्लेख गर्दै अग्राधिकार सहितको संघीय संरचना बन्नुपर्ने, नेपालका सबै राज्यका अंगमा सबै जनताले अपनत्व ठान्ने गरी पुनःसंरचना हुनुपर्नेमा जोड दिएका छन्।‘समाजवादी संघीयता आजको नेपालको ढाँचा हुनुपर्छ। अग्राधिकार सहितको संघीय संरचना बन्नुपर्छ। नेपालका सबै राज्यका अंगमा सबै जनताले अपनत्व ठान्ने गरी पुनःसंरचना गर्नुपर्छ,’ उनले भने।उनले अन्तरिम कालको नेतृत्व नेकपा (माओवादी)लाई दिए आन्दोलनकारी, जनता सबैलाई चित्त बुझ्दोगरी राज्यलाई निकास दिने दाबी पनि गरे ।