इटहरी । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले १५औँ महाधिवेशन सर्न सक्ने बताएका छन्। बुधबार आयोजित ‘किसुनजीको जीवन र व्यक्तित्व’ विषयक कार्यक्रममा बोल्दै डा. कोइरालाले क्रियाशील सदस्यता वितरणमा भएको ढिलाइले महाधिवेशन सर्न सक्ने बताएका हुन्। ‘अधिवेशन केही लम्बिन सक्छ,’ उनले भने, ‘मैले सार्न खोजेको होइन, म त पुस २६ गते हुनुपर्छ भन्ने व्यक्ति हो।’
कांग्रेसको क्रियाशील सदस्यता वितरण र नवीकरणको काम तोकिएको समयमा सकिएको छैन। मंगलबार बसेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक नवीकरणको समय पुस ९ गते मध्याह्न १२ बजेसम्म थपेको छ। यसअघि पुस मसान्तभित्र नवीकरण विवरण पठाइसक्ने समय तोकिएको थियो।
क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले केन्द्रबाट पठाएका केही फारममा सिरियल नम्बर उल्लेख थिएन। त्यसलाई लिएर विवाद भएपछि सदस्यता वितरणमा ढिलाइ भएको थियो।


















