इटहरी । आसन्न महाधिवेशनमार्फत् नेपाली कांग्रेस मोरङका सभापति तथा पूर्व मन्त्री डिगबहादुर लिम्बू कोशी प्रदेश सभापतिको आकाङ्क्षासहित आन्तरिक दौडधुपमा क्रियाशील हुन थालेका छन् ।
लिम्बू शेखर कोइराला पक्षधर नेताका रूपमा चिनिन्छन् । लिम्बूले आगामी प्रदेश अधिवेशनमा कोशी प्रदेश सभापतिका लागि प्रतिस्पर्धा गर्ने तयारीसहित शेखर कोइरालालाई पार्टी सभापति बनाउनुपर्ने धारणा राख्न थालेका छन् ।
प्रतिनिधि छनोट प्रक्रिया सकिएपछि पार्टीको कोशी प्रदेश सभापतिका लागि औपचारिक रूपमा प्रतिस्पर्धामा उत्रने उनले सङ्केत गरेका हुन् ।
लामो समयदेखि सङ्गठन निर्माणमा सक्रिय, अनुभवी नेता तथा पूर्व मन्त्रीका रूपमा पहिचान बनाएका लिम्बू कोशी प्रदेशको राजनीतिमा प्रभावशाली व्यक्तित्व मानिनुहुन्छ । लेटाङनिवासी लिम्बू पार्टीमा अनुशासित नेताका रुपमा चिनिन्छन् ।
लिम्बूले हालै लेटाङमा र सुन्दरहरैंचामा सञ्चारकर्मीसँग भेटघाट गरी आफू नेपाली कांग्रेसको कोशी प्रदेश सभापतिमा आकाङ्क्षी रहेको सङ्केत गरेका हुन् ।


















