इटहरी । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो दल कुनै पनि राजनीतिक गठबन्धनमा नलागी चुनाव लड्ने स्पष्ट संकेत दिएका छन् ।सुनसरीको बराहक्षेत्रस्थित चक्रघट्टीमा बुधबार आयोजित सभालाई सम्बोधन गर्दै साम्पाङले कुलमान घिसिङसँग मिलेर चुनाव लड्ने अफर आए पनि त्यसको सम्भावना नभएको बताए । साथै उनले नेपालका ठूला दलहरू ‘चोखो’ नभएको आरोप लगाए ।

धरान उपमहानगरपालिका प्रमुख समेत रहेका साम्पाङले आफ्नो नेतृत्वमा गठन भएको श्रम संस्कृति पार्टीले संगठन विस्तारमा तीव्रता दिएको जानकारी दिए ।निर्वाचन आयोगबाट दल दर्ता प्रमाणपत्र पाए लगत्तै उनी विभिन्न जिल्लामा दौडाह गरिरहेका छन्। पूर्वका आधा दर्जन जिल्लामा पार्टीले सभाहरू गरिसकेको छ।

कात्तिक १८ मा पाँचथरको फिदिम, मंसिर ११ मा ताप्लेजुङ, १२ गते तेह्रथुम, १३ गते संखुवासभा र १५ गते झापाको दमकमा आमसभा भएको थियो। यी सभामा अनुमान विपरीत उल्लेख्य सहभागिता देखिएको छ।आगामी कार्यक्रमहरूमा मंसिर २० गते मकवानपुर, २१ गते चितवन, २२ गते काठमाडौं, २३ गते काभ्रे, २७ गते खोटाङ र पुस ५ गते बुटवलमा सभा गर्ने योजना तय गरिएको छ।