इटहरी । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ३० वर्षमुनिका युवाहरूलाई पार्टी केन्द्रीय समितिमा ल्याउन प्रस्ताव गरेका छन्।
केन्द्रीय समिति बैठकमा केही दिनअघि महामन्त्री थापाले पेस गरेको प्रस्तावमा विधान संशोधनका विषयहरू समावेश छन् जहाँ युवालाई केन्द्रीय समितिमा स्थान सुनिश्चित गर्नेदेखि चुनावमा उम्मेदवार सिफारिस गर्ने भिन्न तरिकासमेत छ।
‘नयाँ परिस्थितमा पार्टीको आमूल सुधार गर्न, सदस्यता खुला र प्रक्रिया सहज बनाउँदै नेतृत्व चयन र निर्णय प्रक्रियामा सदस्यको निर्णयक भूमिका स्थापित गर्न, तहगत प्रतिनिधि र नेतृत्व चयन प्रक्रियाको विधि र संरचना, उम्मेदवार चयनमा प्राइमरीको व्यवस्था, भ्रातृ तथा शुभेच्छुक संस्था सञ्चालन, प्रदेश कार्यसमितिको अधिकार र जिम्मेवारी, पार्टी प्रवेश र जिम्मेवारी र शासकीय पदको अवधि, ल्याटरल इन्ट्री र जरैदेखि समावेशीता, पार्टीको संरचनागत परिवर्तन लगायतका दर्जनौं विषयमा सघन छलफल गरी विधानको संशोधन गर्नुपर्नेछ,’ महामन्त्री थापाको भनाइ छ।
यसको तयारी गर्न विधान संशोधन मस्यौदा समिति बनाउन पनि थापाले कात्तिक १८ गतेको केन्द्रीय समितिमा प्रस्ताव गरेका थिए।


















