काठमाडौं । नियमित महाधिवेशनको मिति सार्वजनिक गर्न माग गर्दै कांग्रेस कार्यकर्ताले सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको मूल गेटमा ताला लगाएका छन् ।
महाधिवेशनमा युवा प्रतिनिधित्वको सुनिश्चितता गर्न पनि उनीहरुले माग गरेका छन् । पार्टी अनिर्णियको बन्दी भएको भन्दै छिटो निर्णय गर्नका लागि युवाहरूले तालाबन्दीपछि प्रदर्शन समेत गरेका थिए ।
२८ असोजदेखि सुरु भएको केन्द्रीय समितिको बैठक पटक–पटक स्थगित हुँदै आएको छ । शुक्रबारका लागि बोलाइएको बैठक पनि बस्दै नबसी आजका लागि सारिएको थियो । तर आजको बैठक पनि नबसी मंगलबारका लागि सारिएको छ ।
तालाबन्दीपछि कांग्रेस नेतृत्वलाई केन्द्रीय समितिको बैठक बसी महाधिवेशनको मिति तय गर्न थप दबाब परेको छ ।


















