इटहरी डेस्क । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण भदौ २३ गतेको नरसंहार र २४ गतेको विध्वंस भएको बताएका छन् ।चितवनमा आयोजित एक कार्यक्रममा उनले यति ठूलो जनधनको क्षति हुँदासमेत ओलीले पश्चातापसमेत नगरेको बताए ।

अरुतिर दोष देखाउने ओलीको प्रवृति घातक भएको प्रचण्डको टिप्पणी छ ।‘यत्रो विध्वंस भयो । उनकै नालायकीका कारणले यति ठूलो जनधनको क्षति भयो तर रतिभर पनि पश्चाताप छैन । आत्माआलोचना छैन । आत्मसमीक्षा छैन’ प्रचण्डले प्रश्न गरे, ‘मैले त केही गरेकै थिइनँ भनेर अन्यत्र दोष देखाउने ?’

जेनजी आन्दोलन हुनुपूर्व नै सरकारलाई बारम्बार खबरदारी गरेको प्रचण्डले स्मरण गरे ।उनले ओलीको हर्कतबाट उनी निरंकुशतातर्फ फर्कन न खोजेका होइनन् भन्ने आशंका पनि गरेका छन् । पहिले दुईपटक संसद विघटन गरेको र अहिले पुर्स्थापना भन्दै हिँडेकोप्रति प्रचण्डले आशंका गरेका हुन् ।

उनले भने, ‘पहिला उनी संसद विघटन दुई दुईपटक संविधान मिचेर संसद विघटन गर्ने पात्र । हामी विघटन गर्न हुँदैन भनेर आन्दोलन गर्ने वाला । अहिले फेरि संसद विघटन भएर निर्वाचन घोषणा भइसकेको स्थितिमा फेरि पुनर्स्थापना भन्ने । यसबाट कहिँ उनी निरंकुशतन्त्रतिर, सामन्ती निरंकुशतन्त्रतिर फर्कने रणनीतिले काम त गरेको छैन ? तपाई हामी सबैले सोच्नु पर्ने स्थिति छ ।’

प्रचण्डले ओलीको अहंकारमाथि एमाले कार्यकर्ताहरूले विजय प्राप्त गर्ने विश्वास पनि व्यक्त गरेका छन् ।एमालेको केन्द्रीय कमिटीको बैठक बसिरहेको र अध्यक्ष ओलीको नेतृत्वमाथि पार्टीभित्र पनि प्रश्न उठिरहेका प्रचण्डको यस्तो भनाई आएको हो ।उनले भने, ‘मलाई लाग्छ एमाले भित्रका सबै इमानदार देशभक्तहरूले यो राष्ट्र संकटमा भएको बेलामा उनको यो अहंकारमाथि विजय प्राप्त गर्ने छन् भनेर म विश्वास व्यक्त गर्न चाहन्छु ।’