इटहरी डेस्क । सभापति शेरबहादुर देउवाले कार्यकारी भूमिका त्याग्दै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएपछि पहिलोपटक आज नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दै छ। यसअघि मंगलबार सभापति देउवाको अध्यक्षतामा सुरु केन्द्रीय समिति बैठकलाई नै आज निरन्तरता दिन लागिएको हो। तर आजदेखि बैठकको अध्यक्षता कार्यवाहक सभापति खड्काले गर्नेछन्।
बैठक ललितपुरको सानेपास्थित कांग्रेसको केन्द्रीय कार्यालयमा दिउँसो १ बजे सुरु हुने नेताहरूले बताएका छन्। खड्काले कार्यवाहक सभापतिको जिम्मेवारी पाएपछि बुधबार एक दिन स्थगन गरिएको कांग्रेस केन्द्रीय समितिको बैठकलाई आजदेखि पुन: निरन्तरता दिन लागिएको हो।
यसबीच बुधबार कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षधर नेताहरूले विशेष महाधिवेशनको माग गर्दै कार्यवाहक सभापति खड्कालाई हस्ताक्षर बुझाएका छन्।


















