इटहरी डेस्क । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा पूर्वराष्ट्रपति एवम् पार्टीका पूर्वउपाध्यक्ष विद्या भण्डारीको सदस्यताबारे प्रशंग उठेको छ ।ललितपुरको भनिमण्डलमा बुधबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा बोल्ने कतिपय नेताहरूले भण्डारीको सदस्यता नवीकरण गर्नुपर्ने माग गरेका छन् ।
अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको विशेष राजनीतिक प्रतिवेदनमाथि धारणा राख्दै नेताहरूले भण्डारीको पार्टी सदस्यता नवीकरण गरेर ससम्मान पार्टीमा ल्याउने निर्णय गर्न ध्यानाकर्षण गराए ।पहिलो दिनको बैठकमा बोलेका ५० जनामध्ये काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्य, हरिबहादुर राई, सोम मिश्र, सरिता न्यौपाने, शर्मिला कार्की लगायतका दश जना नेताले भण्डारीलाई तत्काल पार्टीमा स्वागत गर्नुपर्ने धारणा राखेको नेताहरू बताउँछन्।
‘विद्यादेवी भण्डारीको रोकिएको सदस्यता नवीकरण गर्नुपर्छ,’ काठमाडौँ महानगरपालिकाका पूर्व मेयर शाक्यले बैठकमा भने, ‘पूर्वराष्ट्रपति पार्टीमा आउँदा लोकतन्त्र कमजोर हुन्छ भन्ने गलत भाष्य बनाउन खोजिएको छ, त्यो सत्य होइन। ससम्मान उहाँको एमाले सदस्यता नवीकरण गरेर कायम गरिनुपर्छ।’
गएको साउनमा बसेकोकेन्द्रीय कमिटी बैठकले भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो । भण्डारीलाई एमालेको राजीतिमा आउन नदिने ओलीको चाहनाका कारण केन्द्रीय कार्यालयले नवीकरण गरिसकेको सदस्यता समेत केन्द्रीय कमिटीले थाँती राखेको थियो ।
त्यसप्रति वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, रामबहादुर थापा लगायत नेताहरूले अहसमति जनाएका थिए ।आगामी महाधिवेशनमा आलीलाई चुनौती दिने सम्भावनका कारण भण्डारीप्रति ओली कठोर बनेका थिए ।
यसअघि असोज २४ र २६ गते बसेको सचिवालय बैठकमा बहुमत बढी पदाधिकारीले भण्डारीको रोकिएको सदस्यता नवीकरण खुला गर्न ओलीलाई दबाब दिएका थिए ।केन्द्रीय कमिटीमा यो विषयले फेरि प्रवेश पाएसँगै सदस्यता खुलाउन अब अध्यक्ष ओलीमाथि दबाब बढ्ने भएको छ।


















