विराटचोकः प्रधानमन्त्री सुशीला कार्कीले ५ जना मन्त्रीहरूको नाम राष्ट्रपति समक्ष सिफारिश गरेकी छिन् । सिफारिश भएका मन्त्रीको शपथ आज हुने बताइएको छ । मन्त्रिपरिषद् दोस्रो पटक बिस्तार भएको हो ।
प्रधानमन्त्री कार्कीले पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, पत्रकार जगदीश खरेल, अतिरिक्त सचिव डा. संगीता मिश्रा, वैज्ञानिक महावीर पुन र तत्कालीन राज्य पुनर्संरचनाका संयोजक समेत रहेका डा. मदन परियारलाई मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति समक्ष आइतबार सिफारिश गरेकी हुन् ।
बिस्तारित मन्त्रिपरिषद्मा सर्वोच्च अदालतका पूर्वन्यायाधीश सिन्हाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कानुन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् ।
अतिरिक्त स्वास्थ्य सचिव डा. मिश्रालाई स्वास्थ्यमन्त्रीमा सिफारिश गरिएको छ ।
इमेज टिभीका समाचार प्रमुख जगदीश खरेलललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिने गरी सिफारिश गरिएको छ । दुई दशक भन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका खरेलले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गरेका छन् ।
कृषि विज्ञ डा. मदन परियारलाई कृषि विकास तथा पशुपन्छी मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।
वैज्ञानिक महावीर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा सिफारिश गरिएको छ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुनले दुर्गम जिल्लामा ताररहित इन्टरेनट विस्तारमा पु¥याएको योगदानको कदर गर्दै अन्तर्राष्ट्रिय म्यागसेसे अवार्ड समेत पाएका थिए । यसअघि उहाँलाई वीरगञ्जमा बन्द अवस्थामा रहेको कृषि औजार कारखानाको जिम्मा दिइएको थियो ।


















