भोजपुर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भोजपुरस्थित मुन्दुम क्षेत्रमा चार किलोमिटर पदयात्रा गर्नुभएको छ । परिवारसहित आफ्नो पैतृक जिल्ला भोजपुर पुगेका कार्कीले टेम्केमैयुङ गाउँपालिकास्थित टेम्के डाँडाको आधार शिविरदेखि चखेवा भञ्ज्याङ क्षेत्रसम्म पदयात्रा गर्नुभएको हो ।
भ्रमणका क्रममा मुख्यमन्त्री कार्कीले मुन्दुम क्षेत्रको प्राकृतिक आकर्षण, किरात समुदायको मौलिक संस्कृति र परम्पराले भोजपुरको पर्यटन विकासमा योगदान पुर्याउन सक्ने बताउनुभयो ।
उहाँले मुन्दुम क्षेत्रको प्राकृतिक तथा सांस्कृतिक पहिचानलाई प्रवद्र्धन गर्न सके भोजपुरलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सकिने सम्भावना रहेको बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले टेम्केमैयुङ गाउँपालिका–२, छिनामखुमा सञ्चालित गोठेसिं होमस्टेको अवलोकन पनि गर्नुभएको थियो । सो अवसरमा गाउँपालिका अध्यक्ष सरोज बस्नेत, वडाध्यक्ष पूर्णबहादुर राई र होमस्टे सञ्चालक प्रकाश राईलगायतसँग स्थानीय विकास तथा पर्यटन प्रवद्र्धनका विषयमा छलफल भएको थियो ।
सरकारले पहिचान गरेका १०० पर्यटकीय गन्तव्यको सूचीमा समावेश मुन्दुम पदमार्गमा प्राकृतिक दृश्यावलोकन, सांस्कृतिक अनुभव र पदयात्राका प्रशस्त सम्भावना छन् ।
समुद्री सतहबाट करिब ३ हजार १०० मिटर उचाइमा रहेको टेम्के डाँडा प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र पर्यटकीय सम्भावनाका दृष्टिले महत्त्वपूर्ण मानिन्छ ।


















