विराटचोकः सन् २०१२ र २०२२ मा सफलतापूर्वक क्षेत्रीय सम्मेलन आयोजना गरिसकेको अनुभवलाई आधार बनाउँदै सन् २०२८ मा इन्द्रपुर जेसीजले नेपाल जेसीजको राष्ट्रिय महाधिवेशन आयोजना गर्ने लक्ष्यसहित प्रारम्भिक तयारी अगाडि बढाउने निर्णय गरेको छ ।

सुन्दरहरैंचा–४ स्थित गोदावरी रिसोर्टमा भएको इन्द्रपुर जेसीजको दोस्रो सञ्चालक समिति बैठकले सन् २०२८ को राष्ट्रिय महाधिवेशन आयोजना गर्ने तयारी गरेको अध्यक्ष समीर बस्नेतले जानकारी दिनुभयो ।

मोरङको सुन्दरहरैँचा–४ स्थित गोदावरी रिसोर्टमा इन्द्रपुर जेसिज वर्ष २०२६ को दोस्रो सञ्चालक समिति बैठकले हालसम्म सम्पन्न भएका कार्यक्रमहरूको समीक्षा गर्दै आगामी कार्यक्रम तथा भावी कार्ययोजनाका विषयमा विस्तृत छलफल गरेको बस्नेतले जानकारी दिनुभयो । संस्थाको प्रभावकारी सञ्चालन, नेतृत्व विकास तथा आगामी गतिविधिहरूलाई थप व्यवस्थित बनाउने विषयमा विभिन्न निर्णयहरू समेत गरिएको जनाइएको छ ।

सो बैठकले इन्द्रपुर जेसीजको आतिथ्यतामा राष्ट्रिय महाधिवेशन आयोजनाको सम्भाव्यता अध्ययन तथा आवश्यक तयारीका लागि इन्द्रपुर जेसीज वर्ष २०२१ का अध्यक्ष कृष्णप्रसाद ओझाको संयोजकत्वमा एक समिति गठन गर्ने निर्णय गरेको छ ।

बैठकमा संस्थाका पदाधिकारी तथा बोर्ड सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।