इटहरी ।  जेठ महिनाभर अधिकमास अर्थात् पुरुषोत्तम मास (मलमास) रहेको छ । अधिकमासमा केही आचरणमा बस्नुपर्ने विषय पुराणहरुमा उल्लेख गरिएको छ । मलमास सके एक महिना, नसके १५ दिन, नभए सात दिन त्यो पनि नसक्नेले तीन दिन अनिवार्य बार्नुपर्ने बताइएको छ ।

मलमासमा गर्न नहुने भनिएका कुराः
–मलमास लाग्नुअघि नगएका तीर्थमा यस महिनामा पहिलो पटक जान र दर्शन नगरेका देवताको दर्शन गर्नु शुभ मानिँदैन ।

–मलमासमा मन्दिर निर्माण गर्न तथा कुनै देवीदेवताको प्राणप्रतिष्ठा गर्न पनि निषेध गरिएको छ ।

–विशेष कामनाले गरिने एकाह, सप्ताह, नवाह, लक्षहोम, कोटीहोम, श्रौतयाग, स्मार्तयागजस्ता कर्म गर्नु हुँदैन भनिएको छ ।

–गृहारम्भ, गृहप्रवेश, लाखबत्ती प्रज्वलन, पुराण श्रवणलगायत कुनै कामना राखेर गरिने काम गर्नु हुँदैन । यद्यपि निष्काम भावले गरिने यस्ता कर्म गर्न कुनै बाधा छैन । यसबाट झन् ठूलो पुण्य आर्जन हुने कुरा बताइएको छ ।

यद्यपि पुरुषोत्तम महात्म्य लगाउने भनेकै यही महिनामा भएकाले यसबाट मोक्षसम्म मिल्ने बताइएको छ । अधिकमासमा भगवान नारायणको पूजा गरिने र अधिकमासमा माहात्म्य वा कथा सुन्ने र दान गर्ने परम्परा रहेको छ । यसो गर्नाले सम्पूर्ण पापहरू नष्ट हुने पुराणमा उल्लेख छ ।

–एक वर्ष पूरा नभएका अर्थात नवविवाहित पतिपत्नीबीच यौनसम्पर्क भए पतिको आयु क्षीण अर्थात थोरै हुन्छ भनिएको छ । यसको अर्थ पुराना दम्पत्तिलाई चाहिँ छुट छ भनिएको होइन, पूराना दम्पतीमा पनि यो नियम केही हदसम्म लागू हुन्छ ।

–यो अवस्थामा यौनसम्पर्क भएर गर्भ रहे सन्तान स्वस्थ जन्मँदैन । गर्भ रहेर बच्चा जन्मिए पनि आयु थोरै हुन्छ भनिएको छ ।

–नयाँ जोडी मलमासभर एउटै घरमा बस्न नहुने र एउटै धाराको पानी पिउन नहुने शास्त्रीय मान्यता छ ।