विराटनगरः जिल्ला प्रहरी कार्यालय मोरङको अगुवाइमा आजदेखि जिल्लाभर लागूऔषधविरुद्धको ‘महाअभियान’ शुरु भएको छ । विराटनगरको महेन्द्र चोकबाट जनचेतनामूलक प्रभातफेरी निकालेर महाअभियान शुरु गरिएको हो ।
सो प्रभातफेरी बजार क्षेत्रको परिक्रमा गरी शहीद रंगशाला पुगेर सभामा परिणत भएको थियो । लागुऔषध नियन्त्रणलाई प्रहरीको कारबाहीमा मात्र सीमित नराखी व्यापक सामाजिक आन्दोलन बनाउने उद्देश्यले मोरङमा पहिलोपटक यस्तो बृहत् अभियान थालिएको बताइएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अभियानको शुभारम्भ गर्नुभएको थियो । महाअभियानअन्तर्गत सरोकारवाला निकायहरूले नौ बुँदे साझा प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन् ।
अभियानलाई जिल्लाका १७ वटै स्थानीय तहमा पुर्याइने जनाइएको छ ।


















