काठमाडौं। शीतल निवासमा पुगेका नागरिक समाजका अगुवासँग राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा पहिले नै विघटन गर्ने माग पेश हुँदा आफू बरु शहीद हुन तयार रहेको तर संविधानभन्दा बाहिर नजाने अडान लिएको बताएका छन् । 


भदौ २४ को घटना र त्यसपछि अन्तरिम सरकार गठन गर्दा सम्मका प्रसङ्ग सुनाउँदै राष्ट्रपति पौडेलले आफ्नो अडानकै कारण पहिले अन्तरिम सरकारपछि प्रधानमन्त्रीको सिफारिशमा प्रतिनिधि सभा विघटन भएको बताए । 


नागरिक समाजका अगुवाहरूले बिहीबार अन्तरिम सरकारको मुख्य काम चुनाव भएकाले त्यसभन्दा बाहिर नजान सचेत गराउन राष्ट्रपति रामचन्द्र पौडेलसँग अनुरोध गरेका थिए । उनीहरुले राष्ट्रपति पौडेललाई भेटेर ज्ञापन पत्र समेत बुझाएका थिए । 


नागरिक समाजका महेशकुमार मास्के, मल्ल के. सुन्दर, परशुराम तामाङ, रत्नसंसार श्रेष्ठ. कुन्दन अर्याल, जगत देउजा, टीकाराम भट्टराई, कनकमणि दीक्षित, चण्डेश्वर श्रेष्ठ, राजेन्द्र महर्जन, गीता त्रिपाठी, बिन्दु शर्मा, शरद वन्त, सुशील प्याकुरेलले बिहीबार राष्ट्रपति पौडेललाई भेटेका थिए ।