काठमाडौंः भारतीय प्रधानमन्त्रीको जन्मदिनको अवसर पारेर नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज फोनवार्ता भएको छ । 

 

वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री मोदीलाई उनको ७५ औं जन्मदिनको शुभकामना दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  प्रधानमन्त्री कार्कीले नेपाल–भारतबीचको सदियौं पुरानो र मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्नुका साथै नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा पनि जानकारी गराएकी थिइन् । 

 

भारतीय प्रधानमन्त्री मोदीले नेपालका नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई ज्ञापन दिँदै असल छिमेकीका नाताले आगामी दिनमा पनि भारतले नेपाललाई निरन्तर सहयोग गर्ने बताएका थिए ।  

 

छिमेकी दुई देशका सरकार प्रमुखहरूबीच भएको वार्तामा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय हित र साझा चासोलगायत विविध विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।