इटहरी डेस्क । प्रधानमन्त्री केपी शर्मा ओलीले पारिवारिक स्थिति तनावपूर्ण हुनेहरूले सामाजिक सञ्जालमा मुख छाड्ने निष्कर्ष सुनाएका छन् । ईडिया स्टुडियोले काठमाडौंमा आयोजना गरेको नवप्रवर्तक युवासँग प्रधानमन्त्री अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री ओलीले युवाहरूलाई तनावमुक्त भएर बस्न सुझाव दिए ।
उनले युवाले चित्त बुझाउन नहुने र परिवर्तनको लागि लाग्नुपर्नेमा जोड दिए । ‘तर चित्त नबुझाउने भनेको अरूलाई गाली गर्ने, केही नगर्ने, नकरात्मक ढंगले मात्रै चल्ने, त्यसले कसैलाई राम्रो गर्दैन,’ उनले भने ।उनले भने, ‘यो फेसबुक–सेसबुकमा मुख छाडेर हिँड्नेहरूको पारिवारिक स्थिति तपाईँहरूले उनीहरूको परिवारभित्र के छ भनेर हेर्नुभयो भने टेन्सन हुन्छ ।’
उनका अनुसार सामाजिक सञ्जालमा मुख छाड्नु उनीहरूको आदत हो । ‘किनभने त्यो आदत हो। त्यस बानीले गर्दा खेरी ऊ आफैं तनावमा हुन्छ,’ उनले भने ।गाली गरेर हिंड्ने अभ्यासले व्यक्ति, परिवार र समाज कसैलाई पनि राम्रो नगर्ने तर्क गरे ।
उनले भने, ‘असन्तुष्ट हुँदा अरूलाई मुख छाडेर हिँड्ने, गाली गरेर हिँड्ने, काम केही नगर्ने, नकारात्मक ढंगले मात्रै चल्ने, त्यसले आफूलाई पनि राम्रो गर्दैन, आफ्नो स्वास्थ्य पनि राम्रो गर्दैन, पारिवारिक स्वास्थ्य पनि राम्रो गर्दैन, सामाजिक स्वास्थ्य पनि राम्रो गर्दैन ।’उनले युवाहरूलाई केही काम गर्नासाथ घमण्ड नगर्न सुझाव दिए ।


















