विराटनगर -  विराटनगरमा जारी ऐतिहासिक विराट गोल्डकप फुटबल प्रतियोगितामा आज विभागीय टोली त्रिभुवन आर्मी क्लब र आयोजक मोरङ एफएबीच प्रतिस्पर्धा हुँदैछ। सहिद रंगशालामा साँझ ६:३० बजे खेल सुरु हुनेछ।

मोरङ एफएले सोमबार सम्पन्न उद्घाटन खेलमा भारतको साउथन समिति कोलकातालाई ३–२ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरिसकेको छ। घरेलु मैदानमा आज विभागीय टोली आर्मीको सामना गर्नुपर्ने भएकाले मोरङका समर्थकहरू उत्साहित देखिएका छन्।

दुवै टोलीबीचको प्रतिस्पर्धा निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ। मंगलबार राति सम्पन्न खेलमा भारतको शुभेदा दिल्ली फुटबल क्लबलाई टाइब्रेकरमा ५–३ गोल अन्तरले स्तब्ध पार्दै विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) क्वार्टर फाइनलमा प्रवेश गरिसकेको छ।

यस वर्षको विराट गोल्डकपमा कुल १० वटा टोलीको सहभागिता रहेको छ। हालसम्म सम्पन्न दुई खेलमा दुई भारतीय टोली पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेका छन्। आयोजक मोरङ एफए र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीचको खेल नतिजा के आउँछ भनेर सबै फुटबलप्रेमीहरू उत्सुक छन्।